Nepa Top
century-bank

न्यायाधीशबाटै इजलास बहिष्कारपछि न्यायलयमा नयाँ तरंग

  • कालिका खड्का

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार इजलास बहिष्कार गरेपछि मुलुकमा नयाँ तरंग पैदा भएको छ ।

डा गोविन्द केसीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दाको सुनुवाइ हुँदाहुदै प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायाधीको बृहत् पूर्ण इजलासलाई न्यायाधीश जबराले बहिष्कार गरेपछि मुलुकमा नयाँ तरंग पैदा भएको हो ।

सुनुवाइ भइरहेकै अवस्थामा न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्ष पूरा भएको र प्रधानन्यायाधीशका रुपमा पराजुलीको कार्यकाल सकिएको भनेर वक्तव्य जारी गर्दै इजालसबाट बाहिरिएपछि न्यायलयमाथि विभिन्न खालका प्रश्न उठेका छन् ।

नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीका अनुसार प्रधानन्यायाधीसहित सात न्यायाधीशको बृहत्पूर्ण इजलास बहिष्कार गर्नु न्यायालयको आचारसंहिताविपरीत र अदालतमाथिको ठूलो प्रहार हो । यस्ता खालका कार्यले न्यायालयमाथि नागरिकको आस्था घटाउने काम गर्छ ।

पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायालयको इतिहासमा सोमबार सर्वोच्च अदालतमा भएको घटना कहि पनि सुन्नु र पढ्नु भएको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “न्यायालयको इतिहासमा मैले यस्तो घटना पढेको र सुनेको पनि छैन, संसारमा यस्ता घटना भएको छैन होला ।”

“न्यायाधीशबीचमा राय फरकफरक आउन सक्छ, इजलासमा सुनुवाइ भइरहेको अवस्थामा आफ्नो अभिव्यक्ति दिएर हिँड्नुले न्यायापालिकाको निष्ठा र भविष्यप्रति प्रश्न चिह्न खडा भएको छ,” पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले भन्नुभयो ।

सो विषयलाई लिएर बार एसोसिएनका पदाधिकारीको मतसमेत विभाजित भएको देखिएको छ । बारका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्बबहादुर खातीले प्रेस विज्ञप्ति जारी गरी न्यायाधीश जबराले इजलासमा दिएको अभिव्यक्तिले न्यायलयको आस्था र निष्ठामा गम्भीर आघात पु¥याएको भन्ने उल्लेख छ । तर बारका उपाध्यक्ष उषामल्ल पाठक र सदस्यहरु विष्णु बस्याल, कृष्ण आङ्देम्बेले आज छुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी बैठक राखेर छलफल नगरी निष्पक्ष, सक्षम र स्वतन्त्र न्यायापालिकालाई गम्भीर क्षति पु¥याउने खालको बारले वक्तव्य निकालेको भन्दै आपत्ति जनाएका छन् ।

सर्वोच्च अदालतमा सोमबार इजलासमा भएको घटनालाई लिएर केही इजलास आज बस्नसमेत सकेनन् । नेपालको संविधानले स्वतन्त्र र निष्पक्ष न्यायालयको परिकल्पना गरेको छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]