Nepa Top
century-bank

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारी थप पाँच बर्ष अभिभावकीय भूमिकामा

काठमाडौं । राजनीतिमा एकपछि अर्को खुड्किलो उक्लने सीमित महिलामध्ये एक हुन् विद्यादेवी भण्डारी । पति मदन भण्डारीको रहस्यमय मृत्युपछि पुनः सक्रिय राजनीतिमा होमिएकी भण्डारीले पार्टी, संसदीय राजनीति र राजकीय जिम्मेवारीमा एकपछि अर्को फड्को मारिरहेकी छन् ।

दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले थप पाँच बर्ष अभिभावकीय भूमिका निर्वाह गर्दै छिन् । एक रिपोर्ट ।
राष्ट्रपति भण्डारीको जन्म २०१८ साल असार ५ गते भोजपुरको मानेभञ्याङमा भएको हो ।

भण्डारीले भोजपुरको बेहेरेश्वर प्राथमिक विद्यालयबाट आधारभूत, विद्योदय सेकेण्डरी स्कूलबाट प्रवेशिका, भोजपुर क्याम्पसबाट प्रविणता प्रमाण–पत्र र महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक अध्ययन गरेकी हुन् ।

भोजपुर क्याम्पसमा आइए अध्ययनको थालनीसँगै २०३५ सालदेखि नेकपा मालेको युवा लिगमा संगठित हुदै विद्याले राजनितिक जीवनको थालनी गरेकी हुन् ।

विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका भूमिगत नेता मदन भण्डारीसँग बैवाहिक सम्बन्ध जोडेपनि त्यो लामो समय गएन । २०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा मदनले ज्यान गुमाए । मदनको निधनपछि रिक्त काठमाडौं–१ मा २०५० सालमै भएको उप–निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई हराएसँगै विद्याको चर्चा र राजनीतिक सक्रियता बढ्यो ।

२०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि केन्द्रीय सदस्य बनेकी विद्या करिब दुई दशक अखिल नेपाल महिला संघकी अध्यक्ष रहिन ।

तीन पटक सांसद भएकी विद्या पहिलो कार्यकाल राष्ट्रपति हुनु अघि २०६५ सालबाट एमालेको उपाध्यक्ष थिइन । २०५४ सालमा जनसंख्या तथा वातावरण र २०६६ सालमा रक्षामन्त्री भएकी विद्या २०७२ कार्तिक ११ गते तत्कालिन व्यवस्थापिका संसदबाट मुलुकको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन ।

संक्रमणकालिन भूमिकामा कम आलोचित हुन, राजनीतिक सहमतिका लागि दलहरुलाई निरन्तर प्रोत्साहित गरिरहनु, निर्वाचनको वातावरण बनाउन सहयोगी बन्नु र राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा महिला सशक्तिकरणको आवाज उठाउनु विद्याको २८ महिने पहिलो कार्यकालका सकारात्मक पक्ष हुन् ।

चुनाव हारेको पार्टीका प्रधानमन्त्रीले सिफारिस गरेको राष्ट्रियसभा सदस्य तत्काल मनोनयन नगर्दा असंवैधानिक भएको आरोप लाग्नु बाहेक विद्याको कार्यकाल विवादित रहेन । तर, पार्टीमा रहँदा केपी ओली समूहको कुशल व्यवस्थापक मानिएका कारण राष्ट्रपति रहँदासमेत विद्याले त्यही भूमिका निभाएको भन्दै एमाले भित्रैबाट भने उनको आलोचना भयो ।

 (न्यूज २४ टेलिभिजनको साँझ ७ र राति ८ बजेको प्राइमटाइम न्यूजमा यो रिपोर्ट हेर्न सक्नु हुनेछ )

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]