Nepa Top
century-bank

खडेरीका कारण पानीको मुहान सुक्दा बाजुराबासी काकाकुल

  • निमेन्द्र शाही,

बाजुरा । तीन वार्षयता बाजुरावासीलाई खडेरीले नराम्ररी सताएको छ । खडेरीका कारण यस वर्ष पूर्वी क्षेत्रका गाउँमा पानीका मुहान सुकेका छन् । पानीको मुहान सुकेपछि त्यस क्षेत्रवासीले पिउने पानीको हाहाकार झेलिरहेका छन् । पिउने पानी समस्याले जनजीवन नै जरजर बनेको छ ।

हिमाली गाउँपालिका वडा नम्बर ४ बोर्तावासीलाई पिउने पानीको जोहो गर्दै दिन बित्छ । उठ्नै बित्तिकै पीउने पानी जोहो गर्ने समस्याले पिरोल्छ । बिहानै पानी जोहो गर्न घरबाट निस्केकाहरु बल्लतल्ल दिउँसो दुई बजेतिर घर फर्कन्छन् ।

ल्याएको एक गाग्रो पानीले मानिसको प्यास त मेट्नु पर्छनै, चौपाया पनि त्यही पानीको भरमा बाचेका छन् । बोर्तामा ७० बढी घरधुरी बसोबास गर्छन् । यहाँ पहिले पहिले पानीको समस्या थिएन । तर, अहिले भने पानी अभावले नै विकराल परिस्थिति बनेको छ ।

लामो समयसम्म वर्षा नभएपछि खडेरीले गाउँघरका पुराना कुवा र पानीका मुहानहरु सुकिसकेका छन् । बोर्ताबाट पानीको जोहो गर्न धेरै टाढा जानुपर्छ । काम गर्न सक्नेको समय पानी जोहो मै बित्छ । घरका ठूला सदस्यको समय पानी भर्नमै बित्न थालेपछि बालबालिका बिद्यालय जान सकेका छैनन् । पानीको जोहो गर्दागर्दै समय बितेपछि अभिभावक आफ्ना बालबच्चालाई बिद्यालय पठाउने समय नै पाउँदैनन् ।

सबैको समस्या उस्तै छ । सबैले जीवन धान्नकै लागि पानीको जोहो गर्नै पर्छ । गाउँका सबै मानिस घन्टौ समय खर्चेर पानीको जोहो गर्न बचेखुचेका कुवा पुग्छन् । सुक्न बाँकी रहेका कुवामा मानिसको भीड लाग्छ । पिउने पानीको जोहो गर्ने क्रममै कतिको त झगडा नै हुने गरेको छ ।

लामो समयको खडेरीका कारण गाउँघरका डाँडाकाडा नाङ्गो छन् । यताउता, जता हेरे पनि उराठ लाग्दो नाङ्गो डाँडा मात्र खेखिन्छ । गाउँमा हरियो भनेको पीपल मात्र छ । अरु वनजंगल खडेरीकै कारण सुकिसकेको छ । लामो समयको खडेरीलेका कारण यस क्षेत्रको जनजीवन नै अस्तव्यवस्त बनिसकेको छ ।

पिउने पानीको अभावले बोर्ताबासीको जनजीवन संकटपूर्ण छ । उदेक लाग्दो दैनिकीसँग अभ्यस्त हुनुपर्दा बोर्तावासीको जीवन जर्जर बनेको छ । पानीको मुहान सुक्दै गएपछि समस्याको चाङले बोर्ताबासीलाई थिचेको छ । यस्तै अवस्था रहने हो भने बाजुराको बोर्चामा ठूलै मानविय संकटको खतरा देखिन्छ ।

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]