Nepa Top
century-bank

प्रदेश दुईमा सरोजकुमार यादव र प्रदेश पाँचमा पूर्णबहादुर घर्ती सभामुखमा चयन

धनुषा । प्रदेश दुई र पाँचले सभामुख पाएको छ । प्रदेश दुईमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव र प्रदेश पाँचमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती सभामुख चयन हुनभएको हो ।

प्रदेश नम्बर दुईमा मंगलबार दुई बजेसम्म तोकिएको समयावधिमा एकमात्र उम्मेदवारी परेकाले यादव निर्विरोध हुनुभएको हो । संघीय समाजवादी फोरम नेपाल र राजपाबीच माघ २७ गते भएको पद बाँडफाँटको सहमतिअनुसार सभामुखमा यादवको मात्रै उम्मेदवारी परेको हो । दुई नम्बर प्रदेशसभामा अन्य दल एक्लै आफ्ना उम्मेदवार जिताउने हैसियतमा छैनन् ।

यादव पूर्व राज्यमन्त्री हुनुहुन्छ । त्यस्तै, प्रदेश नम्बर पाँचको सभामुखका लागि घर्तीको मात्र उम्मेदवारी परेपछि उहाँ पनि निर्विरोध हुनु भएको हो । दुबै प्रदेशका सभामुलाई बुधबार बस्ने प्रदेशसभाको बैठकले औपचारिक रुप दिने छ । यसैबीच, संघीय समाजवादी फोरम र राजपाले प्रदेश २ मा सरकार गठनको दाबी पेश गरेका छन् ।

दुबै दलले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसामू बहुमत पेश गर्दै फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद चाहिन्छ । जुन फोरम र राजपा गठबन्धनसँग छ । यहाँ फोरमका २९ र राजपाका २५ सांसद छन् । बिहीबार मुख्यमन्त्रीको सपथ हुनेछ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]