Nepa Top
century-bank

पार्टी एकतापछि जनयुद्धको स्वामित्व ग्रहण : खुल्दैनन् एमाले नेता

काठमाडौं । माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को सबैभन्दा खरो आलोचक थिए एमाले अध्यक्ष केपी ओली । र, तिनै ओलीको ‘मानसिक सन्तुलन’ बिग्रिएको भन्दै लिखित बक्तब्य जारी गर्ने पात्र थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

संघैको तिक्त सम्बन्ध र विपरित ध्रुवका यि दुई पात्र यतिबेला भने एकीकृत कम्यूनिष्ट पार्टी बनाउने अन्तिम कसरतमा छन् । पार्टी एकताको सांगोपांगो टुङ्गिन लाग्दा एमालेका नेताको ‘जनयुद्ध’प्रतिको दृष्टिकोण अब के रहन्छ भन्ने चासो बढेको छ ।

एमाले र माओवादी केन्द्रको एकताले गति लिइरहँदा फाुगन १ गते अर्थात् मंगलबार जनयुद्ध दिवस आइपुग्यो । माओवादी केन्द्रको भ्रातृ संगठन बाइसीएलले दिबसको औपचारिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीलाई विशेष अतिथिका रुपमा निम्त्यायो ।

कार्यक्रममा जाँदा जनयुद्धलाई मान्यता दिएको अर्थ लाग्ने र आलोचनासमेत गर्न नसकिने परिस्थितिका कारण हुनसक्छ ओलीले बेलायती रक्षामन्त्रीसँग भेटघाटको ‘बहाना’मा पेरिसडाँडाको कार्यक्रम पन्छाए । तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले घोषणा गरे–‘ओलीजीले जनयुद्धको भूमिका स्वीकार्नु गरिसक्नु भयो ।’

दाहालले पेरिसडाँडाबाट यस्तो दावी गरिरहँदा एमालेका विष्णु रिजाल फेसबुकमा लेख्दै थिए–‘आजको दिनको सिलसिलामा अकाल र अनाहकमा ज्यान गमाउनुहुने नेकपा (एमाले)का निहत्था नेता–कार्यकर्ताका साथै सबैप्रति हार्दिक श्रद्धान्दली !’ रिजालको धारणाले ति तमाम एमाले कार्यकर्ताको प्रतिनिधित्व गर्छ, जो जनयुद्धले आफ्ना सहयात्री गुमाउनुको पीडा सजिलै बिर्सन सक्दैनन् ।

जनयुद्धले एमालेका पाँचसयभन्दा बढी कार्यकर्ताको ज्यान लियो । तर, पार्टी एकताका लागि विगत बिर्सनुपर्ने बाध्यताका कारण पनि हुनसक्छ एमाले नेताहरु जनयुद्धप्रतिको ‘खरो’ धारणामा ‘नम्र’ देखिन थालेका छन् ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको ‘द्वन्द्व’लाई एमालेले ‘जनयुद्ध’समेत नभनेर संधै ‘हिंसात्मक सशस्त्र द्वन्द्व’ भनिरह्यो । र, त्यसको नेतृत्व गरे ओलीले । झलनाथ खनाल र माधव नेपालले जनयुद्धबारे लचिलो धारणा राख्दासमेत ओली समूहले तिनलाई ‘माओवादीको प्रवक्ता’ को पगरी नै गुथाइदियो । झापा संघर्षमा हतियारवद्ध मोर्चाको नेतृत्व गरेर आएपनि ओलीले माओवादीको ‘जनयुद्ध’को अस्तित्व स्वीकारेनन् ।

परिस्थिति यसरी बदलियो कि तिनै ओली र तत्कालिन जनयुद्धका सर्वोच्च कमाण्डर दाहाल सारा विगत भुलेर पार्टी एकताको अन्तिम कसरतमा छन् । जसलाई ‘जनयुद्ध’प्रतिको दृष्टिकोणले नरोक्ने एमाले नेताकै दावी छ । पार्टी एकता नै भयो भने एकीकृत पार्टीले जनयुद्धको अपनत्व लिनुपर्ने भएकाले पनि यसबारे एमाले नेताहरु लचिलो बनेका हुन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]