Nepa Top
century-bank

चकलेट मन पर्छ ? स्वास्थ्यका लागि कति फाइदा, कति हानी?

चकलेट भनेपछि दंग नपर्ने मानिस सायदै हुन्छन्। चकलेट तपाईंको मनपर्ने खानेकुरा नभए पनि चकलेटले मायाप्रेम, खुसीयाली र पुरस्कारका रुपमा सबैलाई मुग्ध पार्छ।

चकलेटको स्वाद लिन तपाईंलाई अझै केही कारण चाहिए अरु केही नगर्नुस्, वैज्ञानिकसँग सोध्नुस्। चकलेट पारखीका अनुसन्धान वा केही स्वघोषित चकलेट क्रेजीहरूले त यसले रक्तचाप घटाउने, मुटसम्बन्धी रोग लाग्न नदिने, रगतमा ग्लुकोजको मात्रा (ब्लड सुगर लेभल) घटाउने र तनाव कम गर्ने जस्ता अनेकौँ दाबी गर्छन्।

अनुसन्धानले चकलेट (कोको) बाट हुने स्वास्थ्य सम्बन्धी यस्तै केही अनौठा फाइदा पुष्टि गरेका छन्। गएको दशकमा अनुसन्धानकर्ताहरूले चकलेटमा झाडापखाला रोक्ने रासायनिक तत्व फेला पारेका थिए। बेलायती रानी भिक्टोरियाका पालामा पनि बेलायती चिकित्सकहरू भिरिंगीको उपचारमा कोको उपयोग गर्थे।

डार्क चलकेटमा प्रयोग गरिने ‘कोको’को फल

चकलेट उत्तम एन्टिअक्सिडेन्ट हो। सुन्निएको, दुखाइ र जलनमा यसले प्रभावकारी काम गर्छ। कोकोका कारण नै यस्ता फाइदा भएको हामीलाई लाग्छ,’ ओहायो राज्यको टोलेडोस्थित ‘सेन्ट भिन्सेन्ट मर्सी मेडिकल सेन्टर’का कार्डियोलोजी फेलो डा. ओवैस ख्वाजाले भने। डा. ख्वाजाका अनुसार यस्ता फाइदामा क्यान्सर र विस्मृति (डिमेन्सिया) जस्ता रोगको जोखिम न्यून गर्न पनि चकलेट (कोको) उपयोगी हुन सक्छ।

तर, बजारमा पाइने सबै चकलेट एकसमान/उस्तै छैनन्। चकलेटमा पाइने ‘एन्टिअक्सिडेन्ट’ र ‘एन्टिइन्फ्ल्यामेटरी’ गुण कोकोका दानामा पाइने विशेष पोषक तत्व ‘फ्लाभोनोइड्स’बाट आउँछ। फ्लाभोनोइड्सको मात्रा बढी पाइने ‘डार्क’ (कफी/कोको रङका) चकलेट ‘मिल्क’ चकलेटको तुलनामा बढी प्रभावकारी हुन्छन्। कोको नहालिने मिल्क वा सेता चकलेटमा फ्ल्याभोनोइड्स पाइँदैन।

सामान्यतया ७० प्रतिशत कोको भएको ‘चकलेट बार’लाई ‘डार्क चकलेट’ मानिन्छ। यस्ता डार्क चकलेटमा समेत फ्ल्याभोनोइड्सको मात्रा फरक–फरक हुन्छ। फ्ल्याभोनोइड्सको मात्रा चकलेट उत्पादन हुने प्रक्रियामा भर पर्छ। जस्तो कि, ‘डचिङ’ प्रक्रियाबाट चकलेट उत्पादन हुँदा यस्तो फाइदाजनक तत्व फ्ल्याभोनोइड्सको अलिकति पनि मात्र बाँकी रहँदैन। अर्थात् यस्ता ‘डच चकलेट’मा फाइदाजनक तत्व पाइँदैनन्।

त्यसपछि कुरा आउँछ, दुध र चिनीको। ‘व्यावसायिक उत्पादन हुने चकलेट शुद्ध चकलेट होइनन्। दूध र चिनी मिसाइएका चकलेटले तपाईंलाई फाइदा गर्छ भन्ने मलाई लाग्दैन,’ डा. ख्वाजा भन्छन्।
डा. ख्वाजाको यो भनाइको निष्कर्ष भनेको, फ्ल्याभोनोइड्सको मात्रा नभएका ‘बार’ वा ‘हर्सेेज’ जस्ता चकलेट खाएर स्वास्थ्यका लागि फाइदा लिन चाहनेहरू निराश हुनुपर्नेछ। ख्वाजाको भनाइ सन् अठारौं शताब्दीको अन्त्यतिर युरोप र अमेरिकामा मिल्क चकलेट बजारमा आउँदा गरिएका विज्ञापनभन्दा ठ्याक्कै विपरीत छ। अर्को शब्दमा भन्नुपर्दा मिल्क चकलेट हाम्रो भोजनको पोषक हिस्सा होइन।

‘तर, सबै प्रकारका चकलेट खाँदा पर्ने प्रभावबारे अझै धेरै अनुसन्धान गर्न आवश्यक छ,’ डा. ख्वाजा भन्छन्, ‘चकलेट (कोको) को कस्तो स्वरुप फाइदाजनक हुन्छ, अहिलेसम्म पर्याप्त तथ्यांक उपलब्ध छैन।’

सामान्यतया चकलेटसम्बन्धी गरिएका अध्ययनमा सहभागीसँग उनीहरू कुन चकलेट खान्छन् भनेर मात्र सोधिन्छ तर कुन खालका चकलेट भन्नेबारे सोधिँदैन। त्यसमाथि सहभागीहरूले यथार्थमा कति चकलेट खान्छन् त्यसको मात्रा कि त बिर्सन्छन् कि त ठ्याक्क बताउन सक्दैनन्।

तत्कालका लागि डार्क चकलेट खानु स्वास्थ्यका लागि सुरक्षित छ, वा कम्तीमा जोखिमपूर्ण छैन भन्न सकिन्छ। ‘तर हामीसँग यसबारे पर्याप्त तथ्यांक नहुन्जेल धेरै चकलेट नखानु नै बेस हुन्छ,’ डा. ख्वाजाको सल्लाह छ, ‘दिनमा एक वा दुईपल्टसम्म खानुहुन्छ भने ठीक छ। तर, त्यसभन्दा बढी नखानु होला।’
(क्यारिना स्टरस, विशेष संवाददाता सिएनएन)

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]