Nepa Top
century-bank

को हुन् डोरमणि र शेरधन ?

नेकपा एमालेले निर्वाचनमार्फत नै दुई वटा प्रदेशसभामा संसदीय दलको नेता चुनेर आन्तरिक लोकतन्त्रको अभ्यासलाई बढवा दिएको छ ।

पार्टी नेतृत्व र व्यवस्थापिका संसदको नेतासमेत निर्वाचनबाट छान्दै आएको एमालेले तीन नम्बर प्रदेशमा डोरमणि पौडेल र एक नम्बर प्रदेशमा शेरधन राईलाई सरकारको नेतृत्व सुम्पिने गरी संसदीय दलको नेता चुनेको छ । को हुन् त भावी मुख्यमन्त्री पौडेल र राई ?

नेपाल नगरपालिका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका डोरमणि पौडेल २०४८ र २०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको प्रमुख निर्वाचित भएका थिए । राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएरसमेत काम गरिसकेका पौडेल अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष पनि हुन् ।

स्थानीय स्वायक्त शासन (विकेन्द्रिकरण) का विज्ञ पौडेलको जन्म २००२ साल चैत १५ गते काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा भएको हो । हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा पौडेल मकवानपुर–२ को (ख) प्रदेशसभामा निर्वाचित भएका हुन् ।

मायानाथ र कुलकुमारी दम्पत्तिका सुपत्र पौडेलले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० बर्ष शिक्षण गरेका थिए ।

पञ्चायती कालमा लामो समय अर्धभूमिगत जीवन बिताएका पौडेलले २०४६ सालको जनआन्दोलन ताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बिताएका थिए । पार्टीमा संस्थापन पक्ष निकट पौडेललाई अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने चाहना व्यक्त गरेपछि मात्रै उनी चुनावी प्रतिस्पर्धाका लागि तयार भएका थिए । प्रदेश नम्बर ३ को जेष्ठ सदस्यका रुपमा पौडेलले पहिलो बैठकको अध्यक्षता गरेका थिए ।

भोजपुरको थिदिंखा–५ मा जन्मिएका ४६ बर्षीय शेरधन राई एमालेका पोलिब्यूरो सदस्य हुन् । अध्यक्ष केपी ओली निकट राईले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका अविवाहित राई २०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । पञ्चायत कालमा तीन बर्ष भूमिगत जीवन विताएका राई विद्यार्थी संगठनबाट राजनीतिमा लागेका थिए ।

अनेरास्ववियु भोजपुरको अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चल प्रमुखसमेत बनेका राईले २०५४ सालदेखि २०७० सालसम्म एमाले भोजपुरको नेतृत्व गरेका थिए ।

भोजपुर–२ बाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका राई २०५६ सालमा २५ वर्षको उमेरमा कान्छो सांसद बनेर संसद भवन छिरेका थिए । भोजपुरबाट प्रदेशसभा सदस्य निर्वाचित राई एमालेको १ नम्बर प्रदेश सह–संयोजक पनि हुन् ।







Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]