Nepa Top
century-bank

यस्ता थिए हाम्रा वीर सपूत (चार सहिद) ! किन दिईयो फाँसी ?

सुजाता मिश्र,

 

काठमाण्डौ,माघ १६ । देशको स्वतन्त्रता र प्रजातन्त्रको स्थापनाका लागि ज्यानको आहुति दिने शहीदहरुको संझनामा देशभर बिविध कार्यक्रम गरी आज सहिद दिवस मनाइदै छ । प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने वीर शहिदको सम्झनामा माघ १० गतेदेखि सप्ताहव्यापी सहिद दिवस मनाउन थालिएको हो ।

 दशरथ चन्द (१९६०- १९९७)

पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा माहिला छोराका रूपमा भएको थियो। शहीद माइला भन्नाले दशरथ चन्दलाई बुझिन्छ। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो। त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो।

त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो। महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो। वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो। वि.सं. १९९१मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो। उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्नुहुन्थ्यो। दशरथ चन्द र गङ्गालाल श्रेष्ठ एउटै जेलको कोठामा पर्नुभएको थियो। तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो।  बनारसमा स्नातक सकेर आउनु भएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा ‘जुठो सुत्केरो’ परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो अनन्त उहाँ अविवाहित नै शहीद हुनुभयो।

चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो। दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो। उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्नथ्यो। मोही दशरथलाई खुब मनपर्थ्यो।

शुक्रराज जोशी (शास्त्री) (१९५०-१९९७)

शुक्रराज जोशीको जन्म वि.सं. १९५० सालमा काठमाडौंको बांगेमुडामा भएको थियो । उच्च श्रेणीमा संस्कृत साहित्यमा शास्त्री उतीर्ण गरेकाले उहाँलाई पछि शास्त्री भन्न थालिएको हो । आर्य समाजका एक सक्रिय सदस्य शुक्रराजको विवाह अर्का सहिद धर्मभक्त माथेमाकी बहिनीसँग भएको थियो । उहाँ नेपालभाषाका प्रमुख साहित्यकार हुनुहुन्थ्यो । उहाँका विभिन्न भाषामा पुस्तकहरु समेत प्रकाशित छन् ।

भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेपछि शुक्रराज नेपाल फर्किनुभएको थियो । काठमाडौँ आएपछि उहाँको सम्पर्क क्रान्तिकारीहरूसँग भयो । १९९३ सालदेखि उहाँ राणा शासन विरोधी अभियानमा लाग्नुभयो । महात्मा गान्धीसँग भेटेको आरोपमा उहाँलाई राणा सरकारले नजरबन्द समेत गरेको थियो ।१९९५ माघ १३ गते काठमाडौँको इन्द्रचोकमा राणा शासनको विरुद्ध आयोजित आमसभामा उहाँले सम्बोधन गर्नुभएको थियो । लगत्तै राजद्रोहको अभियोग लगाएर उहाँलाई पक्राउ गरियो र तीन वर्ष कैद सुनाइयो ।

आठवटा झुटा मुद्दामा लगाएर राणा शासनले सर्वस्वहरणसहित उहाँलाई फाँसीको सजाय सुनायो र १९९७ साल माघ १० गते राती टेकुमा झुण्ड्याएर हत्या गरियो ।

धर्मभक्त माथेमा (१९६६-१९९७)

१९६६ असोज ९ गते काठमाडौँको ओमबहालमा जन्मेका धर्मभक्तले भारतको दार्जलिङबाट शिक्षा आर्जन गर्नुभएको थियो । धर्मभक्त माथेमाका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।

धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत हुनुहुन्थ्यो । अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउनुभयो । माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत हुनुहुन्थ्यो । उहाँले नेपालमा पहिलो पटक आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याउनुभएको थियो ।

बाल्यकालमा उहाँ निकै दुब्लो र पातलो हुनुहुन्थ्यो । दुबलो र पतलो भएका कारण उहाँलाई साथीहरुले निकै गिज्याउँथे । माथेमा कलकत्तामा पढ्दा शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उहाँ बंगाल च्याम्पियन समेत बन्नुभएको थियो ।

उहाँले काठमाडौं फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे । एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।

राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्बत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले आजकै दिन अर्थात १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए ।

गंगालाल श्रेष्ठ (१९७५- १९९७)

स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उहाँ काठमाडौँ र्फकनुभयो।

वि.सं. १९९४मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) त्यही सभामा भाषणा गरेबापत उहाँलाई पक्रा समेत गरिएको थियो तर पछि उहाँ छुट्नुभयो ।

दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुभयो। प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्‍यो। उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पत्नीको नाम हसिनादेवी हो।

 

– विकिपीडिया तथा अन्य वेबसाइटमा आधारित

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]