century-bank

भक्तपुरमा एमाले–कांग्रेस कार्यकर्ताबीच झडप, सर्लाहीमा हवाई फायर

काठमाडौं । एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा भएको सो झडपमा परी दुईजना घाइते भएका छन् । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन ।मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ ।
कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् । झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ ।

झडप भएको भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरे ।

सर्लाहीमा हवाई फायर

सर्लाहीको करौना गाउँपालिकामा दुई समूहबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ ।
मतदान जारी रहेका बेला कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । अहिले मतदान जारी रहेको कायमुकायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभएको छ ।

सर्लाहीको समग्र अवस्था सामान्य रहेको कटुवालले बताउनुभयो । थप झडप हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसैबीच आज विहान भक्तपुरको बालकोटमा पनि नेपाली काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । एमालेका कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ताको घर तोडफोड गरेपछि झडप भएको बताइएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]