century-bank

कोरियाली भाषा परिक्षाको आवेदन फाल्गुनमा

काठमाण्डौ । नेपाली कामदारको माग उच्च रहेको जनाउँदै कोरियाले आउँदो फागुनमा नवौं कोरियाली भाषा परीक्षाको आवेदन आह्वान गर्ने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदारको छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गर्न लागेको हो ।

फागुनमा भाषा परीक्षाको सूचना सार्वजानिक गरी जेठमा परीक्षा सञ्चालन गर्ने योजना छ । कोरिया सरकारले भाषा परीक्षा गर्ने तयारी गरे पनि कोटा भने निर्धारण गरेको छैन । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाली भाषा परीक्षा पास भएका १२ हजार नेपाली युवाले रोजगार आवेदन फारम भरिरहेका बेला कोरियाले थप नेपाली लैजान इच्छा देखाएको छ । गत जेठमा संचालन गरिएको भाषा परीक्षामार्फत १२ हजार नेपाली लैजाने जनाएको कोरियाले आफ्नो श्रम बजारको मागअनुसार लगत्तै अर्को भाषा परीक्षामार्फत थप नेपाली छनोट गर्न लागेको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका अनुसार हाल रोजगार आवेदन दिइरहेका १२ हजार कामदारको समेत छिटो आवेदन फारम लिन कोरियाली पक्षले नेपालसँग अनुरोध गरेको छ । नेपाली पक्षले भने २०१७मा छनोट भएका १२ हजारभन्दा बढी नेपालीलाई पहिला लगेर मात्र अर्को परीक्षा गर्न सुझाएकोे भए पनि कोरियाले भने लगत्तै परीक्षा गर्न ईपीएस नेपाल शाखालाई अनुरोध गरेको छ । ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियामा नेपाली कामदारको माग उच्च रहेको कारण आठौं भाषा परीक्षामा अन्य १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गरेको बताए ।

कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक भएको हो । शाखाका अधिकृत शोभाकर भण्डारीले रोजगार योग्य सूचि (रोष्टर)मा नेपाली कामदारको संख्या कम भएको जनाउँदै कोरियाले पास भएका १२ हजारको नामावली छिटो तयार गरेर पठाउन अनुरोध गरिएको बताए ।

रोष्टरमा नेपाली कामदारको संख्या १ हजार भन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ । हाल कोरिया जान रोष्टरमा लगभग ४ सय नेपालीमात्र रहेका छन । यो सन २०१५ देखि जान बाँकी रहेका नेपालीको संख्या हो । आठौं ईपीएस भाषा परीक्षामा पास भएर हाल रोजगार आवेदन दिइरहेका १२ हजार नेपालीको माग जनवरीबाट सुरु हुने जनाइएको छ ।

यसमध्ये आइतबारसम्म ४ हजारभन्दा बढीले रोजगार आवेदन फारम भरिसकेका छन् । यी १२ हजार आवेदक २०२० को जनवरीसम्म कोरिया जान सक्नेछन् । हालसम्म ४९ हजार ६ सय ४८ नेपाली ईपीएसमार्फत रोजगारीका लागि कोरिया गइसकेका छन् । यसमध्ये महिला कामदारको संख्या ३ हजार भन्दा बढी छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]