century-bank

भक्तपुरका प्रजापति समुदायलाई माटाको पाला बनाउन भ्याईनभ्याई

  • राम गोपाल तमखु

काठमाडौं  । तिहारमा झ्याल तथा ढोकामा दियो बाल्नका लागि प्रयोग गरिने माटोको दियोको लागि चाहिने माटाका पाला बनाउन भक्तपुरका प्रजापतिहरु व्यस्त छन् । तिहारमा अत्याधिक प्रयोगमा आउने भक्तपुर नगर तथा मध्यपुर थिमीका प्रजापति समुदायलाई माटाका पाला बनाउन भ्याई नभ्याई नै भयो ।

तिहारको समयमा दैनिक तीन हजारको संख्यामा पाला विक्रि हुने भएपछि प्रजापति समुदाय रातदिन खट्नु परेको हो । अरु बेला फाट्टफुट्ट रुपमा दैनिक दुई दर्जन मात्र विक्रि हुने गर्दछ । तिहारको समयमा माटोका पाला बढी विक्री हुने भएकाले आफूहरु पाला बनाउन व्यस्त भएको उनीहरुको भनाई छ ।

सबैभन्दा सानो पाला एक सय वटाको एक सय देखि एक सय वीस रुपैयाँ सम्ममा विक्री हुने गरेको उनीहरु बताउँछन् । माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला व्यवसायीको भनाई छ ।

पाला मात्र नभएर माटाका अन्य भाडा बनाउन समेत कालो माटोको अभाव, बनाइएका सामान सुकाउन ठाउँको अभाव र माटा भाडा पोल्ने स्थानको अभाव रहेको तथा पछिल्लो समय प्लाष्टिक र विद्युतीय सामग्रीका कारण माटाका सामानहरुको उचित दाम नआउने भएपछि यो पेशामा काम गर्ने व्यक्तिहरु विस्तारै पलायन हुन थालेका छन् ।

तिहारको समयमा उपत्यका र उपत्यका बाहिरका बासिन्दाले भक्तपुरसम्म पाला किन्न आउने गरेको तथा विभिन्न ठाउँहरुबाट माग बढी आउने भएपछि पाला बनाउने पेशालाई निरन्तरता दिएको उनीहरुको भनाई छ । भक्तपुर नगरको बोलाछें, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली टोलमा माटाको भाडाहरु बनाउने गरिन्छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]