century-bank

बेइजिङमा बैठक: आत्मदाहको सूचना पाएपछी काठमाडौंमा सुरक्षा सतर्कता

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ नेसनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदै छ । बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकको सुरक्षा सम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ ।

बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका वेला तिब्बती शरणार्थीले चीनलाई दबाब दिने गतिविधि काठमाडौंमा गर्ने तयारी गरिरहेको सूचना प्रहरी पाएको छ । यही वेला आत्मदाह गर्दा चीनलाई दबाब दिन सकिने भन्दै केही तिब्बती शरणार्थीलाई काठमाडौंमा आत्मदाह गराउन खोजिएको सूचना प्रहरीको छ ।

आत्मदाह गर्न खोज्नेहरूको नाम प्रहरीले पाए पनि भारतसँगको सीमामा रेकर्ड सिस्टम राम्रो नहुँदा उनीहरूलाई प्रहरीले पत्ता लगाउन नसकेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले शरणार्थीहरूमाथि निगरानी बढाइएको पुष्टि गरे ।

आत्मदाहको सूचनापछि बौद्ध स्तुपा क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै, जावलाखेल, स्वयम्भू क्षेत्रमा पनि निगरानी बढाइएको छ । राजधानीका गुम्बाहरूमा पनि सतर्कता बढाइएको छ ।

२२ साउन ०७० तथा २ फागुन ०६९ मा काठमाडौंमा दुई तिब्बती शरणार्थीले आत्मदाह गरेका थिए । जुन घटनाको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकतासाथ समाचार सम्प्रेषण गरेका थिए ।

शरणार्थीमाथि अन्याय भइरहेको भनेर सन्देश दिन नियोजित रूपमा त्यस्ता आत्मदाहका घटना गराइने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । चीनले पनि त्यस्ता गतिविधि विभिन्न देशले गरेको आरोप लगाउँदै आएको छ ।

नेपालसँगका द्विपक्षीय बैठकमा चीनले आफ्नो देशविरुद्धका गतिविधि नेपालमा हुन नदिन आग्रह गर्दै आएको छ । एक चीन नीति लिएको नेपाल सरकारले पनि चिनियाँ शरणार्थीको चीनविरोधी गतिविधि नियन्त्रण गर्दै आएको छ । नवराज मैनालीले नयाँ पत्रिकामा यो खबर लेखेका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]