century-bank

तोकिएको मितिमा नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने सहमति

काठमाडौं ।प्रमुख तीन राजनीतिक दलहरुबीच तोकिएको मितिमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् । राजनीतिक दलहरुले निर्वाचनको मितिमा कुनै हेरफेर नहुने भन्दै तोकिएको मितिमा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सहमत भएका हुन् ।

बिहीवार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको तीन दलबीचको बैठकमा दलहरु संविधान कार्यान्वयनको मुख्य कडीको रुपमा मानिने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएको मितिमा गर्नु बाहेकको विकल्प नरहेको तीन दलको निष्कर्ष थियो । निर्वाचन सर्ने बाहिरी हल्लालाई गलत सावित गर्दै निर्वाचन समयमा सम्पन्न गर्ने तीन दलबीच सहमति भएको हो । त्यसैगरि पछिल्लो समय राजनीतिक दलहरुबाट हुँदै आएको निर्वाचन आचारसंहिता उल्लंघनका क्रियाकलापलाई समेत बन्द गर्न तीन दल एक भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्ब्वाङले जानकारी दिनुभयो ।

त्यसैगरि बैठकमा राष्ट्रिय सभा विधेयक र चिकित्सा सम्बन्धि ऐनको विषयमा समेत छलफल भएको थियो । संसदको म्याद शुक्रवार सम्म मात्र रहेकाले शुक्रवार नै दुई विधेयकमा तीन दलबीच सहमति जुटाएर पारित गरिने समेत छलफलले निष्कर्ष निकालेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यता वाम गठबन्धन र सत्तारुढ दल कांग्रेसबीच निर्वाचन प्रणालीलाई लिएर विवाद रहँदै आएको छ । मूल विधेयकले संविधानको व्यवस्था अनुसार राष्ट्रिय सभामा प्रदेशको निर्वाचन मण्डलबाट सांसद् निर्वा्चित गर्ने व्यवस्था गरेको छ । तर, सत्तारुढ दल कांग्रेसले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा उभिएको छ भने नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन वहुमतीय निर्वाचन प्रणालीको पक्षमा रहेका छन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]