century-bank

बाढी बाढीपीडितका लागि राहत जुट्दै, हेर्नुहोस अहिलेसम्मका घोषणा

काठमाडौँ । देशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट प्रभावित जनताको सहयोगका लागि कलाकारहरु सक्रियताका साथ लागिपरेका छन् । एकपछि अर्को रुपमा कलाकारले नगद सहयोग गर्ने बताएका छन् भने केही कलाकार खाद्यान्न बोकेर प्रभावित क्षेत्रमा पनि पुगिसकेका छन् ।

यसैविच, मह संचारको तर्फबाट हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नगद १ लाख सहयोगको घोषणा गरेका छन् । यस्तै, उनीहरुले विभिन्न संघसंस्थासँग सहयोगको लागि कुराकानी भैरहेको पनि जानकारी फेसबुकमार्फत दिएका छन् ।

यस्तै हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहत तथा उद्दारमा खटिएका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’मार्फत बिभिन्न समाजुेवा गरिरहेका उनले औषधी, खाद्यान्न, त्रिपालसहित आफू बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने र राहत वितरण गर्ने जानकारी दिए । उनले सबै कलाकार र सहयोगी दाताहरुलाइ यो अभियानमा सहयोग गर्न र एकजुट भएर अगाडि बढ्न पनि अपिल गरेका छन्।

यस्तै, नायिका पूजा शर्माले पनि नगद १ लाख सहयोग गर्ने बताएकी छिन् । उनले, आफू आफै बाढी प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न चाहेको तर मौसमको खराबीले गर्दा जान नसकेको बताएकी छिन् । पूजाले बाढी प्रभावितलाई आफै प्रभावित स्थानमा पुगेर सहयोग गर्ने समेत बताएकी छिन् । पूजाले चाडो भन्दा चाडो आफू प्रभावित क्षेत्रमा पुग्ने समेत बताइन् ।

दीपकको १ लाख, दीपा र प्रियंकाको ५१-५१ हजार सहयोग

यस्तै हाँस्य कलाकार एवं निर्माता दीपकराज गिरीले नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले, फेसबुकमा सक्रिय ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्न लागेको वुझिएको छ । यस्तै, हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि ‘मोरङ समाज’को माध्यमबाट नगद ५१ हजार सहयोग गरेकी छिन् ।

उनले भनिन्-‘अहिले तत्काल गासको आवश्यकता देखियो । बाढीले प्रभावित बनाउँदा अधिकांश जनताको घरमा चुल्हो बाल्ने पनि ठाउँ छैन । सरकारले दिर्घकालिन राहतको योजना ल्याउला । तर, तत्काल हामीले आ-आफ्नो ठाउँबाट सहयोग गरेर नागरिकको ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था छ ।’ यस्तै, नायिका प्रियंका कार्कीले पनि नगद ५१ हजार सहयोग गर्ने बताएकी छिन् । यी तिनै कलाकारले व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् ।

एनआरएनद्वारा राहत कोष स्थापना

तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।

‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं’ अध्यक्ष घलेले भने- बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।’ संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।बाढीपहिरो पीडितलाई के-कस्तो सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।

तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ । संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ । साथै संस्थाको मातहतका सबै देशका राष्ट्रिय समन्वय समितिहरुलाई पनि रकम संकलनमा तीब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र एनआरएन केन्द्रीय कार्यालयको खातामा पठाइसक्न संघले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]