century-bank

बाढीग्रस्त १८ जिल्लामा औषधिसहितको विशेषज्ञ टोली परिचालन, पश्चिम क्षेत्रमा भारी बर्षा हुने

काठमाडौं । तराईका बाढी प्रभावित १८ जिल्लामा सरकारले र्‍यापिड रेस्पोन्स टिम पठाएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विशेषज्ञसहितको टोली पठाएको हो ।टाइफाइड, आउँ, झाडापखाला जस्ता रोगको महामारी नफैलिओस् भनेर चिकित्सकको टोली बाढीबाट अति प्रभावित जिल्लाहरुमा पठाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख भीम आचार्यले जानकारी दिए ।

टिममा विशेषज्ञ डाक्टरसहित ११ जना छन् । ‘चारवटा र्‍यापिड रेस्पोन्स टिम जनकपुर, नेपालगञ्ज, रौतहट र विराटनगरमा विपत व्यवस्थापनको लागि आजै प्रस्थान गरेको छ,’ डा. आचार्यले भने ।
उनले हालको लागि आवश्यक पर्ने औषधि पर्याप्त रहेको समेत बताए ।

बाढीका कारण मानवीय क्षति थप नहोस् भन्नका लागि क्षेत्रीय निर्देशनालयहरुलाई समेत अलर्ट हुन निर्देशन दिइएको छ । हरेक ठाउँको जानकारी मन्त्रालय र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई भइरहेको आचार्यले बताए । स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीहरुलाई विदा नबस्न र गोष्ठी सेमिनार जस्ता कार्यक्रम रोकेर बाढी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशनसमेत दिएको छ ।

पश्चिम क्षेत्रमा भारी बर्षा हुने

जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ । आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय रहनेछ । यद्यपि बर्षा भने देशभर नै हुनेछ ।

मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन पूर्वबाट पश्चिमतर्फ सक्रिय हुदैछ । आईतबारदेखि सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चिमतर्फ भारी बर्षा हुने मौसमविद कँडेलले जानकारी दिइन् । उनका अनुसार आइतबार सबैभन्दा बढी पानी सिमारामा परेको छ ।

आइतबार विहान ८ बजेको विभागको रेकर्ड अनुसार सवैभन्दा बढी सिमरामा एकसय ९२ मिलिमिटर पानी परेको छ भने सवैभन्दा कम डडेलधुरामा ०.० मिलिलिटर पानी परेको छ । सामान्यतया एकसय मिलिमिटर भन्दा बढि पानी पर्दा भारी बर्षा भनिन्छ ।

विभागका अनुसार पश्चिमका चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, हुदै कञ्चनपुरतिर मनसुन केन्द्रित भएकाले सोमबारसम्म ती स्थानमा भारी बर्षा हुनेछ । यता, भारी वर्षाका कारण पश्चिमको बबईका ५ वटा नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले ती नदीहरुमा चेतावनीस्वरुप साइरन बजाएको छ ।

यस्तै पानीको बहाव बढ्दै जाँदा नवलपरासीस्थित नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ । नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिए । बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ ।  जिल्लामा हुन सक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिए ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]