century-bank

बाँधका ढोका खोल्न एमालेको आग्रह, ९० प्रतिशत भूभाग डुबानमा पर्दा चुप लागेर बस्न नसकिने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतीय सीमावर्ती क्षेत्रमा नेपालको नब्बे प्रतिशतभन्दा बढी भूभाग डुबान हुनुको कारण तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ । एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन गर्न समेत सरकारसँग माग गरेको छ ।

एमालेले कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा अझै डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छ ।

यस्तै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय सिमावर्ती क्षेत्रमा बाँधिएको बाँध र तटबन्धका कारण नेपालको तराई–मधेशको डुबान समस्या झनै बढेर गएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई सचेत गराएका छन् ।

आईतबार व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै उनले झापादेखि कञ्चनपुरसम्म भारतीय सिमावर्ती क्षेत्रमा नेपालको ९० प्रतिशत भूभाग वर्षेनी डुबानमा पर्दा पनि सरकार चुप लागेर बस्न नमिल्ने चेतावनी दिए ।  उपाध्यक्ष रावलले भारतीय सिमावर्तीमा हुने गरेको डुबानका कारण जनताले ज्यानै समेत गुमाउन परेको पीडालाई तत्काल सम्बोधन गर्न सरकारले सो सम्बन्धमा छानवीन गर्न समिति गठन गर्नुपर्ने माग गरे ।

उपाध्यक्ष रावलले भारतीय सिमावर्ती क्षेत्रमा डुबान हुने समस्या वर्षेनी बढेर गएको विज्ञहरुको अध्ययन प्रतिवेदनले देखाएको भन्दै त्यसलाई अध्ययन गरेर अघि बढन पनि सरकारको ध्यानाकर्षण गगराए ।
शुक्रबारयता लगातारको वर्षासँगै आएको बाढीका कारण तराई–मधेशमा ५० जना बढीको ज्यान गइसकेको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]