century-bank

कामदारबाट नौ लाखका दरले ठगी गर्ने मेनपावरलाई उन्मुक्ति, पहिलोपटक समातिए कर्मचारी

काठमाडौं । सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार विभागले कारबाही नै नगरी छाडेको छ । म्यानपावर सञ्चालक सुभद्रा बरालविरुद्ध प्रमाणसहित उजुरी गरेको भए पनि विभागका कर्मचारीले दोषीलाई कारबाही गर्नुको साटो उसैको पक्षमा लागेर मिल्न बाध्य पारेको पीडितहरूको गुनासो छ ।

म्यानपावरले मासिक चार हजार दिराम अर्थात् एक लाख २० हजार रुपैयाँसम्म आम्दानी दिलाइदिने भन्दै उनीहरूलाई ०७३ असोजमा दुबई पुर्याएको थियो । दुबईस्थित हमाया सेक्युरिटी सर्भिस कम्पनीमा सुरक्षा गार्डको काम गर्न लगिएका उनीहरूलाई ६ महिनासम्म त्यहाँस्थित माजुमत लेबर क्याम्पमा अलपत्र राखिएको थियो । यसरी अलपत्र परेपछि उनीहरूले २५ फागुन ०७३ मा युएईस्थित दूतावासलाई उद्धार गर्न र म्यानपावरबाट क्षतिपूर्ति दिलाइदिन निवेदन दिएका थिए ।

दूतावासको पहलमा ४३ जना पीडित आफ्नै खर्चमा नेपाल फर्किन सफल भए । बाँकी सातजना भने न्यून तलबमै दुबईको एक कम्पनीमा काम गरिरहेका छन् । म्यानपावर सञ्चालिका बरालविरुद्ध ४३ जनाले तीन करोड ३८ लाख ७२ हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितहरूले क्षतिपूर्तिका लागि ६ चैत ०७३ मा सामूहिक रूपमा विभागमा उजुरी दर्ता गराएका थिए । दुबई जान उनीहरूले व्यक्तिगत सात लाखदेखि नौ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए । उजुरी दर्ता भएको एक सातामै विभागले बरालविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

मुद्दा दर्ता भएको थाहा पाएलगत्तै सञ्चालक बराल भने म्यानपावर नै बन्द गरेर फरार भएकी थिइन् । विभागमा उजुरी परेको पाँच महिनापछि प्रहरीले २३ साउनमा बुढानीलकण्ठस्थित आफ्नै निवासबाट बराललाई पक्राउ गरेको थियो । तर, विभागले सोमबार नै नाटकीय ढंगले ‘नक्कली मिलापत्र’ गरी उनलाई छाडेको छ ।

म्यानपावरका कर्मचारी पक्राउ

वैदेशिक रोजगार विभागले विदेश पठाउँदा तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावरकी लेखापाललाई रंगेहात पक्राउ गरेको छ । काठमाडौंको गैरीधारास्थित वाई स्पेश इन्टरनेशनलकी लेखापाल अनिता प्रधान पक्राउ परेकी हुन् । विभागको टोलीले छड्के गर्ने क्रममा मलेसिया जाने एक कामदारसँग १ लाख ११ हजार रुपैयाँ लिँदै गर्दा प्रधानलाई नियन्त्रणमा लिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

सरकारले मलेसियासहित खाडी मुलुक पठाउँदा १० हजार सेवा शुल्क मात्रै लिन पाउने ब्यवस्था गरेको छ । तर, १० हजारको बिल थमाएर सबै म्यानपावरहरुले कामदारहरुसँग लाखभन्दा बढी शुल्क असुलिरहेका छन् । यस्तो ‘ओपन सेक्रेट’का बीच २ वर्षसम्म पनि सरकारले एउटै म्यानपावरलाई बढी शुल्क लिएबापत कारवाही गर्न सकेको थिएन । विभागले फ्री भिसा र फ्री टिकेट लागू भएको २ वर्षपछि पहिलो पटक विदेश जाँदा बढी शुल्क उठाउँदा-उठाउँदै रंगेहात पक्राउ गरेको हो । अहिले म्यानपावरमाथि अनुसन्धान सुरु भएको विभागले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]