century-bank

रेबिजः सुई लगाउने नयाँ तरिका सुरु

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै लगाउने तरिका अपनाइएको बताउनुभयो । पहिले पाखुराबाट भित्र मासुसम्म लगाउने गरिन्थ्यो । उहाँले भन्नुभयो, “यो तरिका विदेशमा पहिलेदेखि नै प्रचलनमा छ, हामीले पनि धेरै अघि सुरु गर्ने सोच बनाए पनि विभिन्न कारणले सुरु गर्न सकिएको थिएन ।” अस्पतालका अनुसार पहिलेको तरिकाले १ एमएलको सुईले एक जनालाई हुन्थ्या, अब भने यही सुईले पाँच जनालाई लगाउन पुग्छ ।

अस्पतालका वरिष्ठ अहेव सरिता गौतमले दुई वर्षभन्दा कम उमेरका बालबालिका, ज्येष्ठ नागरिक, शरीरको प्रतिरोधात्मक क्षमता कम भएका र कडा खालका रोग लागेका व्यक्तिलाई भने पुरानै तरिकाले मासुभित्रै सुई लगाउनुपर्ने बताउनुभयो । पुरानो तरिकामा दुवै पाखुरामा ०।५÷०।५ एमएल गरी १ एमएल लगाउर्ने पर्ने भए पनि नयाँ तरिकामा दुवै पाखुरामा ०।१/०।१ गरी ०२ एमएल मात्रै दिइन्छ ।

टेकु अस्पतालमा हरेक दिन १५० भन्दा बढी नयाँ बिरामी र करिब ५०० पुराना बिरामी रेविजविरुद्धको सुई लगाउन आउँछन् । जनावरले टोकेकै दिन, तीन, सात, १४ र २८ दिनमा रेबिजको सुई लाउनुपर्छ । नयाँ तरिकाले सुई लगाउँदा भने १४ औँ दिनमा लगाउनु नपर्ने डा पुनले बताउनुभयो । अस्पतालको तथ्याङ्कअनुसार हरेक वर्ष रेबिजका कारण करिब १५ जनासम्म बिरामीको मृत्य हुने गरेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]