century-bank

नेपालमा राष्ट्रियताको अवस्था

–बद्रीबहादुर कार्की
हरेक चेतनशील वर्गले पटक पटक प्रयोग गर्ने शब्दहरू मध्ये एउटा महत्वपूर्ण शब्द हो ‘राष्ट्रियता’ । राष्ट्रियताको सम्बन्धमा चर्चा गर्नु भन्दा पहिले राष्ट्र र राज्यको बारेमा जानकारी राख्न आवश्यक छ यसर्थ राष्ट्र र राज्यको सामान्य परिचयबाट विषयवस्तुलाई राष्ट्रियतासँग अन्र्तसम्बन्धित गराउन उपयुक्त ठान्दछु ।

सन् १९१९ अगाडी सम्म राष्ट्र र राज्यलाई पर्यायवाची शब्दको रुपमा प्रयोग गरिन्थ्यो । प्रथम विश्वयुद्धको अन्त्य गर्ने भर्सेलिज सन्धि सन् १९१९ जुन २८ मा सम्पन्न भयो र उक्त सन्धिमा “प्रत्येक राष्ट्रलाई राज्य गठन गर्ने अधिकार हुनेछ” भन्ने वाक्यांश उल्लेख भए सँगै राष्ट्र र राज्य फरक फरक विषयवस्तु हुन भन्ने अवधारणाको विकास भएको थियो । राज्य भन्नाले शासकीय प्रणालीको आधारभूमि भन्ने बुझिन्छ । खास गरी राज्य भनेको संविधान, सरकार, भूगोल, जनता र अन्तर्राष्ट्रिय पहिचान सहितको समग्र भौतिक स्वरुप हो । राज्य शासन सञ्चालनको आधारभूमि पनि हो ।

राष्ट्र भनेको राज्यको गुणात्मक पक्ष जनाउने विषय हो ।  राज्यमा सम्मान तथा पहिचान स्थापित गर्ने महत्त्वपूर्ण आयाम राष्ट्र हो । साझा भाषा, धर्म, संस्कृति उत्पत्ति, मर्यादा, इतिहास भएका मानिसहरूको समष्टिगत स्वरुप राष्ट्र हो । राज्य प्रति बलिदानी भावना भएका राज्यको इतिहास, पहिचान, बहुलता प्रति सम्मान तथा गौरवभाव भएका मानिसहरूको समष्टिगत स्वरुप राष्ट्र हो । राष्ट्र र राज्य अन्र्तसम्बन्धित तथा पृथक विषयवस्तुहरू हुन् ।

राष्ट्रियताहरेक नागरिकले राष्ट्रियको सम्बन्धमा जानकारी राख्नैपर्ने आवश्यकता ठान्दछु । मैले यस लेखमा राष्ट्रियतालाई कुनै दार्शनिक दृष्टिकोणकोबाट उल्लेख गरेको छैन, केवल हरेक व्यक्ति र नागरिकले राष्ट्रियताको सम्बन्धमा राख्नु पर्ने न्यूनतम जानकारीलाई प्रस्तुत गर्ने प्रयत्न गरेको छु । नेपालको संविधानको धारा ५ मा राष्ट्रियतालाई नेपालको राष्ट्रिय हितको आधारभूत विषयहरू मध्ये एक महत्वपूर्ण विषयको रुपमा आत्मसात गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने राष्ट्रियताले  राष्ट्रिय हितको संरक्षण, संर्वद्धन र प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

राष्ट्रियताको मूलतः कानूनी र भावनात्मक गरी दुई ओटा पक्षहरू हुन्छन् । राष्ट्रियताको पहिलो पक्ष भनेको कुनै नागरिक र राज्य बीचको कानूनी सम्बन्ध हो । राष्ट्रियतालाई कानुनी पक्षको आधारमा नागरिकताको पर्यायवाची शब्दको रुपमा पनि प्रयोग गर्ने गरिन्छ उदाहरणको लागि अमेरिकन, जर्मन, नेपाली । राष्ट्रियताको दोस्रो पक्ष भनेको व्यक्ति वा नागरिक र राष्ट्र बीचको मनोवैज्ञानिक वा नैतिक सम्बन्ध हो । कुनै व्यक्ति वा नागरिक कुनै राज्य वा राष्ट्रिय राष्ट्रमा आबद्धता भए पश्चात विकास हुने गुण एवं विशेषतामा आधारित राष्ट्रप्रतिको गौरवभाव, सम्मान र राष्ट्रिय एकता नै राष्ट्रियता हो । राष्ट्रियता व्यक्तिको उत्पत्ति, जन्म, प्राप्ति, अपनत्व वा भक्तिभावमा आधारित भई राज्य वा राष्ट्रसँग भावनात्मक वा नैतिक सम्बन्धबाट प्राप्त विशेषता हो । राष्ट्रियताले राष्ट्रको इतिहास, पहिचान, प्रतिष्ठा, मर्यादा, देशभक्ति, देशप्रतिको अगाध माया, श्रद्धा, राष्ट्रिय एकता र अपनत्वको पक्षमा मन, वचन र कर्मले क्रियाशील रहिहन्छ ।

राष्ट्रियता स्वतन्त्र सार्वभौमसत्तामा आधारित नागरिकको नैतिक, भावनात्मक एवं कानुनी सम्बन्ध पनि हो । आफूलाई पहिचान स्थापित गराउने राज्यप्रति आस्थावान बन्दै जाने सन्दर्भमा मात्र राष्ट्रियतालाई लिने हो भने त राष्ट्रियता र राष्ट्रवाद समानार्थी शब्दवलीको रुपमा स्थापित हुन सक्दछन् यसर्थ राष्ट्रवाद राष्ट्रियताको एउटा स्वरुप मात्र हो । राष्ट्रवादका विभिन्न रुपहरू हुन्छन् जस्तै उग्रराष्ट्रवाद, अन्ध(राष्ट्रवाद । राष्ट्रवादका यी रुपहरू राष्ट्रिय हितको पक्षमा नहुन सक्दछन्  तर राष्ट्रियताको स्वरुप चीरकाल सम्म राष्ट्रिय हित र कल्याण परिलक्षित हुन्छन ।

नेपालको राजनीति र राष्ट्रियता नेपालमा राष्ट्रियताको अवधारणाको विकास कहिलेबाट भयो भनेर एकिन गर्न त कठिन छ यद्यपी राष्ट्रियताको अवधारणा संगठित रुपमा पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्य एकीकरण गर्न  शुरुवात गरेदेखि विकास भएको मानिन्छ । सन् १८१६ मा नेपालले अंग्रेजसँग द्विपक्षीय  सुगौली सन्धि गरेसँगै नेपाल राज्यको भौतिक स्वरुप र नेपालको राष्ट्रियताको अवधारणाले मूर्त रुप प्राप्त गरेको थियो । वि.संं. १९०३ मा कोत पर्व भएसँगै नेपालमा तरबारमा आधारित जहाँनिया राणाशासनको सुरुवात भएको थियो र सो अबधिमा नागरिकको दयनीय सामाजिक आर्थिक अवस्था, सत्ता केन्द्रित शासन र बढ्दो वैदेशिक हस्तक्षेपको कारण नेपालको राष्ट्रियता कमजोर बनेको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भए पनि अपेक्षित रुपमा राष्ट्रियताको  सबलीकरण हुन सकेन । वि.सं. २०१७ सालमा निर्दलिय पञ्चायति व्यवस्थाको सुरुवात भएसँगै नेपालमा लोकतान्त्रिक अधिकार र प्रणाली कुण्ठित बन्दै गए, वैदेशिक दबाब, प्रभाव र चासो बढ्दै गयो यस अवधिमा पनि राष्ट्रियताको अवस्था सन्तोषजनक रहन सकेन ।

वि.सं. २०४६ सालमा जनआन्दोलन सफल भए सँगै प्रजातन्त्रको पुर्नवहाली भयो र राष्ट्रियतालाई राष्ट्रिय हितको साथ साथै वैदेशिक सम्बन्ध र चासोसँग पनि अन्र्तसम्बन्धित गराएर हेर्न शुरु गरियो । खास गरी सन् १९९० को दशकमा विश्वव्यापी आर्थिक उदारता र आर्थिक अन्र्तनिर्भरता, विश्वव्यापीकरण, दिगो विकास, युरोपेली युनियनको गठन, विश्वव्यापार संगठन (डब्लुटीओ), विश्वव्यापी आर्थिक प्रतिस्पर्धाको सुरुवात भएसँगै विश्वव्यापी सहकार्य र अन्र्तसम्बन्ध बढ्दै गयो । द्वि–पक्षीय, बहु–पक्षीय, क्षेत्रीय, अन्र्तदेशीय सम्बन्ध र चासो बढेसँगै राष्ट्रियतालाई वैदेशिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने विश्वव्यापी धारणाको विकास भयो । नेपालले पनि सोहि अवधिमा नेपाल अधिराज्यको संविधान, २०४७ बाट नै संवैधानिक रुपमा राष्ट्रियतालाई महत्वपूर्ण विषयको रुपमा स्थापित गर्दै आइरहेको छ ।

नेपालमा हाल राजनीतिक अस्थिरता र राजनीतिक दाउपेचको कारण राष्ट्रियताको अपेक्षित विकास गर्न सकिएको छैन । लम्बिदो राजनीतिक संक्रमण, बढ्दो आर्थिक परनिर्भरता, कठिन भू–राजनीति अवस्था, नागरिकको दयनीय सामाजिक आर्थिक अवस्था, छिमेकी र पश्चीमेली राष्ट्रको अनावश्यक प्रभावको कारण नेपालमा राष्ट्रियताको सन्दर्भमा धेरै चुनौतीहरु रहेका छन । आफनो राजनीतिक मिसन पुरा गर्ने आशयले एउटा राजनीतिक दलले अन्य राजनीतिक दललाई राष्ट्रियता बिरोधी तत्वको रुपमा आरोप – प्रत्यारोप गर्ने प्रवृत्तिले राष्ट्रियता झन कमजोर बन्दैछ । क्षेत्रीय राजनीतिक दलहरूले राष्ट्रियता र राष्ट्रियहितलाई महत्व नदिई क्षेत्रीयतालाई प्राथमिकता दिइनु, राष्ट्रिय स्तरका राजनीतिक दलहरूले राष्ट्रियतालाई दाउपेचको रुपमा प्रयोग गर्नु, राष्ट्रियता सम्बन्धि आचारसंहिता र कानुनको अभाव हुनु, नागरिकको आर्थिक सामाजिक रुपान्तरण हुन नसक्नु, नेपालको आर्थिक परनिर्भरता र जटिल भू–राजनीतिक अवस्था एवं अनावश्यक वैदेशिक चासो, दबाब र प्रभावको कारण राष्ट्रियताको अवस्था संवेदनशील रहेको प्रष्ट छ ।

अबको बाटो : वि.सं. २०७४ माघ ७ गतेको समय सीमामा नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भई संविधान र संघीयताको कार्यान्वयन हुने विश्वास लिइएको छ । संविधान र संघीयता कार्यान्वयन भए पश्चात नेपालमा राजनीतिक स्थायित्व हुने अपेक्षा गर्न सकिन्छ । राष्ट्रियता सम्बन्धी आचार–संहिता, कानुन र दुरदर्शी नीति तत्काल तर्जुमा गर्न आवश्यक छ । राजनीतिक स्थायित्व कायम गरी सबै राष्ट्रिय र क्षेत्रीय राजनीतिक दलहरूलाई  आचारसंहिता र कानुन मार्फत राष्ट्रियताको सम्बन्धमा सचेत र संवेदनशील बनाउदै नैतिकतामा आधारित राजनीतिक संस्कारको विकास गर्नु पर्दछ । छिमेकी र अन्य मित्रराष्ट्रहरू सँगको सम्बन्ध समान सार्वभौमसत्तामा आधारित भई स्थापित गर्नु पर्दछ । देशभित्रको सामाजिक आर्थिक विभेद र अन्याय नियन्त्रण गर्दै आर्थिक–सामाजिक रुपान्तरण गर्न आवश्यक छ। नागरिकहरूलाई विद्यालयस्तरबाटै नैतिक शिक्षा दिँदै मौलिक हक र मानव अधिकार एवं लोकतान्त्रिक पद्धतिको सुनिश्चितता गर्दै नागरिक सर्वोच्चता, राष्ट्रियहित र राष्ट्रियता प्रर्वद्धन गर्न  प्रेरीत गर्नु पर्दछ। भष्ट्रचार नियन्त्रण र सुशासन प्रर्वद्धन गर्न भूमिका खेल्दै राष्ट्रिय हित तथा कल्याण, राष्ट्रिय एकता र राष्ट्रियता प्रति इमान्दारीता पूर्वक लाग्नु हरेक सचेत नेपाली नागरिकको दायित्व हो ।    समाप्त

– आफनो राजनीतिक मिसन पुरा गर्ने आशयले एउटा राजनीतिक दलले अन्य राजनीतिक दललाई राष्ट्रियता बिरोधी तत्वको रुपमा आरोप – प्रत्यारोप गर्ने प्रवृत्तिले राष्ट्रियता झन कमजोर बन्दैछ ।

– राष्ट्रियता सम्बन्धी आचार–संहिता, कानुन र दुरदर्शी नीति तत्काल तर्जुमा गर्न आवश्यक छ ।

– राजनीतिक स्थायित्व कायम गरी सबै राष्ट्रिय र क्षेत्रीय राजनीतिक दलहरूलाई  आचारसंहिता र कानुन मार्फत राष्ट्रियताको सम्बन्धमा सचेत र संवेदनशील बनाउदै नैतिकतामा आधारित राजनीतिक संस्कारको विकास गर्नु पर्दछ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]