century-bank

उम्मेद्वारी दर्ता गर्न गएका व्यक्तिले आफ्नो नाम मृतकको सूचीमा पाए

  • प्रेम सुनार

गुल्मी । उम्मेद्वारी दर्ता गर्न गएका व्यक्तिले आफ्नो नाम मृतकको सूचीमा राखेको पाएपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा हंगामा, पूर्व वडाध्यक्ष समेत रहेका चन्द्रकान्त भण्डारी तनावमा ।

निर्वाचनमा उम्मेद्वार बन्न पुगेका व्यक्ति आफैले आफैलाई मृतकको सूचीमा पाउँदा उनको के हालत भयो होला ? त्यसमाथि सबै तिर चिनिएका र २०५४ सालको विर्नाचनमा वडा अध्यक्षमा निर्वाचित पनि भइसकेका व्यक्तिलाई मृतकको सूचीमा राखेर मतदाता नामावलीबाट नाम समेत हटाएपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा अहिले सनसनी फैलिएको छ । हेलचेक्रयाईको यो पराकाष्टाले मुलुकको स्थानीय तह निर्वाचित पदाधिकारीको अभावमा कसरी चलिरहेको रहेछ भन्ने पनि पुष्टि भएको छ ।

गुल्मी रेसुङ्गा नगरपालिकाका चन्द्रकान्त भण्डारीलाई रेसुङ्गा नगरपालिकामा मृत्यु भएको भन्दै मृत्यु दर्ता स्थानीयले गरेको पाइएको छ । रेसुगां नगरपालिका ४ का वडा सचिव शेषनारायण खनालको संयोजकत्वमा गठित मतदाता अनुगमन तथा अध्ययावधिक समन्वय समितिको २०७३ साल माघ ५ गतेको लिखित निर्णयले मृतक घोषणा गरी मतदाताबाट नाम हटाउने सिफारिस जिल्ला निर्वाचन कार्यालयलाई दिएपछि उनलाई मतदाता नामावलीमा नाम समेत हटाउने निर्णयपछि उनलाई मृतकको सुचीमा राखिएको हो ।

२०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका निर्वतमान वडा अध्यक्ष समेत रहेको भण्डारीलाई नचिन्ने कोही छैनन् । गजवको कुरा त के छ भने त्यस वडाका वडा सचिव शेषनारायण खनालको संयोजकत्वमा गठित समितिले साविकको वडा नम्वर ७ हालको रेसुगां नगरपालिका४ मा आज भन्दा ४ वर्ष अघि मृत्यु भएकी कृष्ण कुमारी भण्डारीलाई हाल सम्म मतदाता नामावलीमा जीवित राखेको छ । तर जीवित व्यक्ति चन्द्रकान्त भण्डारीलाई भने मृतकको सूचीमा राखेर मतदाता नामावलीबाट पनि नाम हटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा निर्णय गरी पठाईएको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका त्यस वडाका कुनै पनि राजनैतिक दलका प्रतिनिधि र अन्य सरकारवालाहरुले आफुहरुको हस्ताक्षर नभई गाविस सचिव खनालले किर्ते हस्ताक्षर गरी त्यस्तो झुटो कार्य गरेको आरोप लगाएका छन् । चन्द्रकान्त भण्डारीलाई मृतक भनि निर्णय गरिएको स्थानीय अगुवासहित प्रमुख दलका स्थानीय नेताहरुको हस्ताक्षर रहेको छ । तर उनिहरु मध्ये कसैले पनि उक्त हस्ताक्षर आफुहरुले नगरेको र गाविस सचिव खनालले किर्ते गरेर त्यस्तो नचाहिँदो काम गरेको दाबी गरेका छन् ।
खनाललाई मृतकको सुचीमा राख्नुको कारण उनलाई निर्वाचनमा सामेल नगराउने नियतले गरेको पनि प्रष्ट भएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]