century-bank

प्रमुखका उम्मेदवार दाहाललाई गाली–बेइज्जती गर्नेविरुद्ध किटानी जाहेरी

रत्ननगर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ । रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिनु भएको हो ।

चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको आज जानकारी दिए ।

सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिए । ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो,’ रेणु दाहालले भन्नुभयो । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाण्डौ जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले बताए ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा रु दुई लाख जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उहाँको भनाइ छ ।निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ ।

‘विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ,’ पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]