tata_tiago

स्थानीय तहको निर्वाचनका लागि आवश्यक वातावरण बनाउ : सांसदहरु

काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकमा विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले स्थानीय तहको निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्नेमा सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।


विशेष समयमा पहिलो वक्ताका रुपमा रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्य दलको अस्तित्व नै स्वीकार नगर्ने तथा मधेसी मोर्चालाई संविधान र स्थानीय तहको निर्वाचन स्वीकार्य नहुने भन्ने दुवै अतिवाद प्रवृत्तिले सहमतिको वातावरणलाई बिगारिरहेको आरोप लगाउनु भयो । उनले निर्वाचन गर्नुपर्ने समयमा दुई दलहरुको अतिवादी प्रवृत्तिले नै सबै विषयलाइ प्रभावित पार्दै लागेको जिकिर गरे ।

त्यसैगरि बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले निर्वाचनसँग जोडेर आफ्नो पार्टीले गरेको मेची–महाकाली अभियानलाई अराजक भन्नेहरु लोकतन्त्रवादी हुनै नसक्ने ठोकुवा गरे । सांसद खतिवडालाई कटाक्ष गर्दै उनले सरकार स्वयंले नै प्रतिपक्षीसँग निहुँ खोज्ने काम गरेको आरोप समेत लगाए ।

यता नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मुलुकमा संविधान संशोधन, राष्ट्रवाद र निर्वाचनका कुरामा राजनीतिक दल दुई कित्तामा उभिँदा संविधान कार्यान्वयनलाई जटिल बनाएको बताए । उनले सबै दल मिल्नुको विकल्प नभएको उल्लेख गर्दै साझा धारणा लिएर अघि बढ्न आग्रह गरे ।

त्यसैगरि सोमबारको बैठकले निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ लाई बहुमतले पारित समेत गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]