tata_tiago

गगनलाई काम गर्न देउ !

  • ईश्वर अर्याल

पूर्वाग्रही नबनी लेख्नुको फाईदा धेरै हुन्छन् । ति मध्ये एउटा महत्वपूर्ण फाईदा हो, कुनै बेला कसैलाई मज्जाले प्रहार गर्दा प्राप्त हुने आनन्द र त्यही मान्छेलाई समर्थन गरेर लेख्दा प्राप्त हुने आनन्दमा कत्ति पनि घटिबढी हुँदैन ।

सन्दर्भ गगन थापाको हो । जतिबेला उनी घैंटे मारिएपछि निन्याउरो अनुहार लिएर मानवाधिकार आयोग छिरेका थिए, त्यतिबेला उनको विरुद्वमा शब्दको वाण बनाएर मुटु नै छिचोल्ने गरेर यहि पंक्तिकारले लेखेको थियो । समाजलाई मसला चाहिन्छ, आलोचनाको चट्नीलाई आरोपको छोप र तर्कको पिरो राखेर दिएपछि मान्छेले जिब्रो पट्ट–पट्ट पड्काउँदै पढ्ने गर्दछन् ।

ईश्वर अर्याल

तर, समयले केहि कोल्टो भने अवश्य मारेको छ । अहिले गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । चुड्कीको भरमा समस्याहरुको समाधान दिन सक्ने नेतृत्वलाई लालटिन बालेर खोज्दै हिँड्छौं हामी । तर आफ्नै तहबाट नेतृत्वलाई आवश्यकताको आकारमा ढाल्दै अगाडि बढ्न दियो भने हाम्रो समाजले कन्जुस्याइँ गर्छ ।

रत्नपार्क वरिपरीका दृश्यहरु कहिले–कहिले आँखामा सलबलाउँछन् । ठूलो स्पिकरमा तिखा आवाजहरुले मृगौला रोगीहरु आर्थिक सहयोग मागिरहेका भेटिन्छन् । तर तिनीहरुलाई निःशुल्क डायलासिस गर्ने र सरकारी अस्पतालमा निःशुल्क मृगौला प्रत्यारोपण गर्ने मन्त्रालयस्तरिय निर्णय गरेर हजारौंको पिडालाई राहत दिएका छन् गगनले ।

चाहे मदिरा र सुर्तीजन्य पदार्थहरुको नियन्त्रणको कुरा होस्, चाहे बाथ रोगीहरुको लागि निःशुल्क मुटुको भल्भ प्रत्यारोपणको कुरा होस् गगनको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयले सकारात्मक र दीर्घकालिन फाइदा हुने काम गरिरहेको छ । उनको पृष्ठभूमि, उनको राजनीतिक धरातल र त्यो धरातलमा उनीसँगै उभिएको उनको पार्टीका कुराहरुलाई एकछिन पछाडी राखेर सोच्ने हो भने, गगन नेपाली कांग्रेस कै इतिहासमा सफल रुपमा मन्त्रालयको नेतृत्व गर्नेहरुमध्ये सबैभन्दा माथि छन् ।

तर नेपालको इतिहास हेर्ने हो भने राजनीतिले गगन जस्ताहरुको निरन्तरता सँधै चाँहदैन् । सरकारलाई समर्थन गर्न नसकिने मधेशी मोर्चाको अप्रत्याशित निर्णयबाट सरकार गठबन्धनका दुईवटा कि प्लेयरहरु प्रचण्ड र देउवा हतासिएका छन् ।

देश स्वस्थ होस् भन्ने चाहनालाई सरकार स्वस्थ होस् भन्ने चाहनाले प्रतिस्थापन गरेको छ । विजय कुमार गच्छदारलाई मन्त्री बनाउने तयारीसँगै गगन थापाको मन्त्रीपद खोसिने हल्लाले बजार तातेको छ । यसका दुईवटा सम्भावित कारणहरु हुन सक्छन् ।

पहिलो कारण सतहमा देखिएको जस्तो, सत्ता गठबन्धनलाई बलियो देखाउनको लागी मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)लाई पनि सरकारमा सामेल गराउनु पर्ने र लोकतन्त्र आईसकेपछि जम्मा–जम्मी ६ महिनामात्र बडो सकसपूर्ण तरिकाले सरकारभन्दा बाहिर बस्नुपरेको गच्छदारको पीडामा मल्हम लगाइदिने तयारी यो सरकारले गरिरहेको छ । जसको लागि गगन थापा र रमेश लेखकले आफ्नो पदको बली दिनुपर्नेछ ।

दोस्रो कारण नेपाली कांग्रेसको समग्र पार्टीपंक्तीभित्र देखिएको गगन आतंक हो । कुनै समय गिरिजा प्रसाद कोइरालाले गगनलाई दरबारको दुत बताएर आफ्नो अनुहारमा देखिएको गगन–भयलाई छोप्न खोजेका थिए र अहिले गिरिजाकै बाटोमा शेर बहादुर हिँड्न खोजेको प्रतित हुन्छ । गगन थापाका कतिपय जनमुखी निर्णयहरुले नेपाली कांग्रेसभित्रकै मेडिकल माफियाहरु हतोत्साहित बनेका छन् ।
मौजुदा राज्य संयन्त्रभित्र बसेर आमूल परिवर्तनको अपेक्षा गर्न सकिँदैन । सुधारात्मक कामहरु मात्र गर्न सकिन्छ । युवाहरुको आशा त गगनले संयन्त्र परिवर्तन गर्ने दिशामा गोटी चालुन भन्ने नै हो । तर उनले पछिल्लो समयमा देखाएको लगनशीलताले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक र दीर्घकालीन परिवर्तनका लक्षणहरु देखा पर्न थालिसकेको यो अवस्थामा उनलाई हटाएर अर्को कुनै पात्र खडा गर्नु भनेको एउटा घातपूर्ण निर्णय हुनेछ ।

तमाम कमजोरीहरुका बाबजुद पनि गगन थापाले विकृत राजनीति मडारिएको यो अवस्थामा आशाको आधा आकाश ढाकेका छन् । नेपाली राजनीतिमा गगनयुगको उदय भएको छ । उनलाई देखेरै धेरै युवाहरु राजनीतिको अनिश्चित भूमरीमा स्वतस्फूर्त हेलिएका छन् । तर, एकाधपटक असफल हुनु र सुनियोजित षड्यन्त्रको शिकार हुनुले तत्कालै पुरै जीवनको असफलतालाई मापन गर्ने हैसियत राख्दैन ।

जतिबेला राजतन्त्र नामको निरंकुश व्यवस्थाले जनताका समस्याहरुलाई नजरअन्दाज गरेर र फरक राजनीतिक विचारधाराहरुलाई दमन गर्ने काम गरेको थियो, युवा भइकन पनि त्यतिबेला व्यवस्था परिवर्तनको नेतृत्व लिने हिम्मत जुटाएका गगन थापाले परिवर्तित व्यवस्थाका कमीकमजोरीहरु हटाउने जिम्मेवारी आएको छ । सम्भवतः उनले यो कुरा राम्रोसँग बुझेका छन् ।

तर, राजनीतिक स्वार्थको खेलमा पटक–पटक असफल भएर पनि केहि गर्न सक्ने ठाउँमा पुगेका उनलाई यहि सत्तालिप्सा कै कारणले अपदस्थ गरियो भने उनीप्रतिको मात्र अन्याय हुने छैन्, समग्र जनतामाथि गरिएको अन्याय ठहरिनेछ । यसकारणले भन्नै पर्ने भएको छ, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई विरुप राजनीतिको आवरणमा गिजोल्ने काम कतैबाट पनि नहोस् र गगनको बहिर्गमनको बाटो पर्खिरहेका स्वास्थ्य क्षेत्रका माफियाहरु अझै सलबलाउन नपाउन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]