tata_tiago

चिसो मौसम, गाडीको धुँवा, सडक विस्तार र मेलम्चीको पाइप बिछ्याउने कार्यले बढायो प्रदूषण

काठमाडौं, अन्य जिल्लाको तुलनामा काठमाडौं उपत्यका अत्यधिक प्रदूषित पाइएको छ । वातावरण विभागअन्तर्गतको प्रदूषण मापन केन्द्रले मंगलबार काठमाडौं उपत्यकासहित काभ्रे, नवलपरासी र चितवनमा रहेका केन्द्रमा गरेको मापनका आधारमा उपत्यकामा अत्यधिक प्रदूषण पाइएको हो ।
प्रदूषण सन्तुलनमा हुन एक सय २० माइक्रोग्राम परमिटर क्युब हुनुपर्नेमा पछिल्लो २४ घन्टामा प्रदूषणको अवस्थामा काठमाडौंको रत्नपार्क केन्द्रले एक सय ४६ र ललितपुरको पुल्चोकमा रहेको केन्द्रले एक सय २१ माइक्रोग्राम परमिटर क्युब मापन गरेको छ । तर, सोही समयमा काभे्रेको धुलिखेलमा रहेको केन्द्रमा भने अवस्था सामान्य पाइएको छ । नवलपरासी र चितवनका केन्द्रले भने ती क्षेत्रको प्रदूषण औसतभन्दा केही माथि रहेको देखाएका छन् ।


उपत्यकामा चिसो बढ्नु, सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पाइप बिछ्याउने कार्य तथा उपत्यकाभित्रका इँटाभट्टा सञ्चालनको कारण यतिवेला उपत्यकामा प्रदूषण अत्यधिक बढेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिए । उनले अन्य समयको तुलनामा बिहान–बेलुकाको हावा बढी प्रदूषणयुक्त रहेको बताए ।
‘काठमाडौँ उपत्यका कचौरा आकारको छ । जाडो मौसममा कम हावा चल्ने भएकाले कचौरा आकारको उपत्यकामा प्रदूषित हावा थिग्रेर बस्दा प्रदूषण बढी हुने गरेको हो,’ तुलाधरले नयाँ पत्रिकासँग भने, ‘जाडो मौसममा दिउँसो पृथ्वीको सतह तातो हुँदा हावा केही माथि जान्छ, बेलुका हुन थालेपछि बिस्तारै तलतिर झर्छ । तर, जाडो मौसममा प्रदूषित हावा तल–माथि गर्दै उपत्यकामै रहने भएकाले अत्यधिक प्रदूषण हुने गरेको छ ।’
काठमाडौँको प्रदूषणलाई दिउँसो घाम लागेको वेला उच्च स्थानबाट समेत अवलोकन गर्न सकिने तुलाधरले बताए । दैनिक लाखौँ गाडीले फाल्ने धुवाँका कारण पनि प्रदूषण बढेको उनको भनाइ छ । उपत्यकामा जाडो मौसममा वरिपरिका इँटाभट्टा सञ्चालन हुने भएकाले थप प्रदूषित हुने गरेको छ । वर्षा मौसममा पानी धेरै पर्ने भएकाले इँटाभट्टामा इँटा पोल्ने काम हुँदैन । सामान्यतया मंसिरपछि खेतको धान काटिसकिने र पानी पनि नपर्ने भएकाले इँटा पोल्ने काम बढी हुने र त्यसले प्रदूषण बढाउने गरेको तुलाधरले बताए ।
नियन्त्रण गर्ने कसले ?
उपत्यकामा प्रदूषण बढिरहे पनि जिम्मेवार निकायले सक्रियता नदेखाएको गुनासो आउने गरेको छ । तर, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले मन्त्रालयको काम वातावरणको मापदण्ड बनाउने र अनुगमन गर्ने मात्र भएको बताए । प्रदूषण कम गर्न सबै सरोकारवाला मन्त्रालयबीच समन्वय र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
‘प्रदूषण बढ्नुमा हाम्रो मन्त्रालयको दोष छैन,’ सचिव डा। ओलीले नयाँ पत्रिकासँग भने, ‘विदेशबाट आयात हुने गाडीको प्रदूषण मापन गर्ने, गुडिरहेका गाडीको प्रदूषण जाँच्ने काम हाम्रो होइन, यातायात व्यवस्था विभागको हो । त्यसैगरी, अरू विकास निर्माणसम्बन्धी काम गर्ने मन्त्रालयले पारेका असरको जिम्मा पनि हामी लिन सक्दैनौँ ।’
उनले विकास निर्माणसम्बन्धी काम गर्दा वातावरणलाई ख्याल नगरिने हुँदा यस्तो समस्या आएको दाबी गरे । ‘हामीले हाम्रो जिम्मेवारीमा रहेको वातावरणको प्रदूषण नियन्त्रण गर्न मापदण्ड बनाउने र नियमन गर्ने काम गर्दै आएका छौँ,’ ओलीले थपे ।
कुन–कुन ठाउँमा सडक विस्तार
उपत्यकामा लामो समयदेखि सडक विस्तारको काम चलिरहेको छ । यति नै वेला मेलम्ची खानेपानी आयोजनाले दसैँअगाडि उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भन्दै धमाधम सडक भत्काउँदै पाइप बिछ्याइरहेको छ । सडक भत्काइएको छ, तर पुनर्निर्माण भएको छैन । जसका कारण उपत्यका धुलोको कुहिरीमण्डलमा परिणत भएको छ ।
अहिले कोटेश्वर–कलंकी, त्रिपुरेश्वर–कलंकी–नागढुंगा, चाबहिल–साँखु सडकखण्डको विस्तार कार्य भइरहेको छ । त्यसक्रममा सडकमै विकास निर्माणका सामग्री जथाभावी फाल्ने गर्दा पनि प्रदूषण हुने गरेको वातावरणविद् तुलाधरको भनाइ छ ।
गाडीको प्रदूषण जाँचमा समस्या
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै गाडी, इँटाभट्टा र जेनेरेटरबाट धेरै प्रदूषण हुने गरेको वातावरण विभागका प्रवक्ता मोहन जोशीले बताए । उनका अनुसार ३८ प्रतिशत प्रदूषण गाडीले फाल्ने धुवाँका कारण हुने गरेको छ । त्यसपछि कृषिसम्बन्धी विभिन्न क्रियाकलापबाट १८ प्रतिशत र इँटा उद्योग र कलकारखानाबाट निस्केको धुवाँ–धुलोबाट ११ प्रतिशत प्रदूषण हुँदै आएको छ ।
उपत्यकामा सबैभन्दा बढी प्रदूषण गाडीको धुवाँबाट हुने भए पनि उपत्यकामा गुड्ने अधिकांश गाडीको प्रभावकारी रूपमा प्रदूषण जाँच गरिएको हुँदैन । सरकारले ६ करोड रुपैयाँ लगानी गरेर काठमाडौंको टेकुमा सवारीसाधन जाँच गर्ने मेसिनसहित कार्यालय स्थापना गरेको छ । तर, कार्यालय र मेसिन सञ्चालनमै नआई बन्द भएको छ ।
ललितपुरको एकान्तकुनामा रहेको सवारीचालक अनुमतिपत्र कार्यालयले उपत्यकामा रहेका गाडीको सामान्य धुवाँ जाँच गरेर हरियो स्टिकर दिने गरेको छ । सो कार्यालयले प्रभावकारी रूपमा सवारीसाधनको प्रदूषण जाँच नगरी हरियो स्टिकर दिन्छ ।
प्रदूषणले स्वास्थ्यमा गम्भीर असर
धुवाँ–धुलोका कारण क्यान्सर, मुटु, फोक्सोसम्बन्धी रोगहरू लाग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। खेम कार्कीले बताए । उपत्यकाको हावामा अत्यन्तै विषाक्त खालका कीटाणु रहेकाले आँखा र छालामा गम्भीर प्रकृतिका रोग लाग्न सक्ने उनको भनाइ छ ।-नयाँ पत्रिका

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]