tata_tiago

महिलाहरु अझै पनि गोठमै सुत्केरी हुँदै, चेतनाको अभावले महिलाहरु स्वास्थ्यको पहुँच बाहिर

अमरजीत पुनमगर रोल्पा,  रोल्पाका फगाम क्षेत्रका अधिकांश महिलाहरु अझै पनि घरगोठ मै सुत्केरी हुन्छन् । उनीहरुलाई स्वास्थ्य संस्था जानुपर्छ भन्ने न चेत छ नत स्वास्थ्य संस्थाको बारेमा नै ज्ञान । स्वास्थ्य संस्थाको बारेमा ज्ञान हुने पनि घरपरिवारसंग अलग भएर बस्नु पर्ने पिरलोले घरमा नै सुत्केरी हुन रुचाउछन् । भौगोलिक विकटता र चेतनाको अभावले ग्रामीण क्षेत्रका ठूलो संख्याका महिलाहरु अझै पनि स्वास्थ्य सेवाको पहुँचबाट वाहिर छन् ।

पूर्वी रोल्पाको फगाम गाविसका महिलाहरु अझै पनि स्वास्थ्य संस्थामा सम्म पुग्न सकेका छैनन् । नियमित गर्भ जाँच, स्वास्थ्य संस्थामै सुत्करी हुनु पर्ने भन्ने मान्यतालाई समेत वेवास्ता गर्ने गरेका छन् । करीब १३ सय घर धुरी रहेको फगाम गाबिसमा करीब ३ हजार जनसंख्या रहेको छ । यस गाबिसका अधिकांश महिलाहरु घर गोठमै बच्चा जन्माउने गरेका छन् । चेतना अभावका कारण उनीहरु घर गोठमै सुत्केरी हुने गरेका हुन् । स्वास्थ्य संस्थामा गए पछि घर परिवारसंग छुट्टिएर बस्नु पर्छ भन्ने पिरलोले पनि धेरै महिलाहरु सेवा लिन नआएको फगाम स्वास्थ्य चौकीका अनमी देउमा पुनको अनुभव छ ।
सदरमुकाम देखि १४ कोषमात्र टाढारहेको फगाममा अहिले सम्म मोटरबाटो पुग्न नसकेका कारण पनि जिल्लाबाट स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु पर्याप्त मात्रामा पुग्न सकेको छैन । स्वास्थ्य सम्बन्धि काम गर्ने थुप्रै संघ संस्थाहरु भएपनि फगाम गाबिस उनीहरुको नजरमा पर्न सकेको छैन । फगाम गाविसमा करिब १८ सय भन्दा बढि महिलाको संख्या रहेपनि स्वास्थ्य संस्थामा पुगेर अभिलेख हेर्ने हो भने महिलाहरुले सेवा लिनेको संख्या लगभग शून्य छ । गाउँ गाउँमा आमा समूह गठन, महिला स्वयम सेविकालााई तालिम जस्ता कार्यक्रम रेडक्रसले गरिरहेपनि अपेक्षाकृत उपलब्धि हासिल हुन सकिरहेको छैन । स्वास्थ्य संस्थाको अभिलेखमा न्यून उपस्थिति देखिएपनि पहिले भन्दा धेरै उपलब्धि भएको रेडक्रसका गाविस संयोजक हेमराज महराको दावी छ ।
स्वास्थ्य संस्थामा सेवाग्राही नआउँदा स्वास्थ्यकर्मीहरु फुर्सदिला भएर दिनभरी घाम तापेर बस्ने गरेका छन् । सबैलाई स्वास्थ्य नारा दिएको सरकारले ग्रामीण क्षेत्रमा पनि जनचेतनामुलक कार्यक्रमहरु पु¥याउन सके फगाम जस्ता धेरै गाउँका महिलाहरुले स्वास्थ्य सेवा लिन पाउने थिए ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : nbc@news24nepal.tv